गोरखा १८, चैत । गोरखा नगरपालिकाको टक्सारमा ५० वेडको क्वारेन्टाइन स्थापना गरिएको छ । टक्सारमा रहेको मनकामना आवासिय बहिरा बिद्यालयमा ५० वेडको क्यारेन्टाइन बनाइएको हो । गोरखा नगरपालिकाको आर्थिक सहयोग एवं नेपाली सेनाको रणसिं दल गुल्मको सहायतामा उत्त विद्यालयमा ५० वेडको मास क्वारेन्टाइनको स्थापना भएको गुल्म पति उज्वल केसीले जानकारी दिनुभयो । ‘हाम्रा जवानहरुले दुई दिन लगाएर ५० वेड तयार गरेका छन्, उहाँले भन्नुभयो, ‘आवश्यताको आधारमा अरु वेडहरु पनि तयार गरिनेछ ।’
स्कुलका छात्र÷छात्रा बस्ने फलामे खाटलाई प्रयोग गरी अहिले वेड तयार गरिएको सिंहले जानकारी दिनुभयो । विशेषगरी भारतबाट गोरखा जिल्लामा आउनेहरुको लागि राख्ने गरी त्यहाँ वेड तयार गरीएको उहाँले जानकारी दिनुभयो । विश्वभर फैलिएको कोरोना भाइरस (कोडिभ–१९) का कारण तेस्रो देश तथा भारतबाट आउनेहरुको लागि १४ दिन बस्ने गरी उक्त क्वारेन्टाइन तयार गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।
क्वारेन्टाइनमा निर्माण गरिएका बेडमा कालो मेट्रेशमाथी हरियो तन्ना र त्यस माथि १ थान कम्बल र सिरानी राखिएको छ । क्वारेन्टाइनमा प्रयोग भएका कम्बर र त्रिपाल नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले उपलब्ध गराएको हो । शाखाका सभापति भगवानबावु मास्केका अनुसार टक्सारको क्वारेन्टाइनका लागि शाखाले १५० थान कम्बल र १५ थान त्रिपाल उपलब्ध गराएको छ ।
त्यस्तै गरी शाखाले जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाको लागि १ सय थान कम्बलका साथै गोरखा अस्पताल, भिमसेन थापा र शहिद लखनको त्रिवेणी क्षेत्रमा हेल्प डेस्कका लागि १÷१ थान टेन्ट समेत उपलब्ध गराएको शाखाले जनाएको छ ।