लम्जुङ । लमजुङको दोर्दी खोलामा निर्माणाधिन ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत आयोजनामा कार्यरत एकजना ईन्जिनियरको माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ । आयोजनाको सुरुङभित्र काम गर्दै गरेको अवस्थामा ढुंगा खसेर गम्भीर घाईते बनेका दाङका सिभिल ईन्जिनियर निराजन बस्यालको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
मंगलबार बेलुका आयोजनाको हेडवक्र्समा काम गर्दै गरेको अवस्थामा ढुंगा खसेर गम्भीर घाईते भएका बस्यालको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । हेडवक्र्स अन्तर्गतको टनेलमा व्लाष्टिङ गरेको माटो फाल्ने क्रममा सुरुङको माथिल्लो पट्टि रहेको ढुंगा खसेर बस्याल घाईते भएका थिए ।
गम्भीर घाईते बस्याललाई थप उपचारको निम्ती लमजुङ सदरमुकाम बेसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याईएको थियो । दाङको तुलसीपुर उपमहानगरपालिका–८, का २२ बर्षिय बस्याल गत मसिरदेखि आयोजनामा काम गर्दै आएका थिए ।