काठमाडौं, २ मंसिर । निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बहस सकिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा बहस सकिएको हो । दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएकाले केहीबेरमा आदेश आउनेछ ।
सरकारले प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । कार्कीले आफूलाई पदावधि बाँकी रहँदै अर्को पदमा खटाएर आईजीपीबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गरेका छन् ।
आफूलाई हटाउने कुनै कानुनी आधार र कारण नखुलाई,स्पष्टीकरण वा सुनुवाइको अवसरसमेत नदिई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाइएको उहाँको दावी छ । उहाँले उक्त निर्णयलाई परोक्षरूपमा पदमुक्त गर्ने बदनियतपूर्ण कार्य भन्दै आफूलाई पूर्ववत् आईजीपी पदमा कायम राख्न माग गर्नुभएको छ ।
मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएर र मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।