सिन्धुली, १ मंसिर । सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जनकपुरबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक माइक्रोबस अनियन्त्रित भइ सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मंगलबार दिउँसो करिब २ बजे मधेस प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको थियो । दुर्घटनाका समयमा चालकसहित १४ जना सवार रहेको र सबै जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको छ। उद्धार गरिएका सबै घाइतेलाई प्रारम्भिक उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल लगिएको छ ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते पिउस गोइत, आयुस गोइत, सीतादेवी यादव र नाम नखुलेका अर्का एक जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये नौ जनाको पहिचान खुलेको छ । पहिचान खुल्नेमा माइक्रोबस चालक धनुषाको शहीदनगर नगरपालिका –८ निवासी दीपककुमार दास रहेका छन् । त्यस्तै, शहीदनगर नगरपालिका –७ का १७ वर्षीया रानीकुमारी मण्डल, शहीदनगर नगरपालिका–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित घाइते भएका छन् ।
यसैगरी, ललितपुरको भैँसेपाटी निवासी ३६ वर्षीया प्रियांका साह र उहाँका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा तीन वर्षीया ओमी साह पनि दुर्घटनामा घाइते भएको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा परेका अन्य पाँच जनाको नाम, ठेगाना तथा परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।