Nagarik Sawal

२०८३ मंसिर २ मंगलबार

२०८३ मंसिर २ मंगलबार

बाढी गएको ३७ दिनपछि उत्तरी गोरखाका ६०० घरधुरीमा विद्युत् सेवा सुचारु


84
Shares

बाढी गएको ३७ दिनपछि उत्तरी गोरखाका ६०० घरधुरीमा विद्युत् सेवा सुचारु

 

गोरखा, १ मंसिर । बुढीगण्डकी नदीमा आएको बाढीले विद्युत् सेवा अवरुद्ध भएपछि उत्तरी गोरखाको धार्चे गाउँपालिकाका स्थानीयले ३७ दिनसम्म अन्धकारमा बिताउनुप¥यो । लामो समयको प्रतीक्षापछि सोमबारदेखि गाउँमा पुनः विद्युत् सेवा सञ्चालनमा आएको छ । विद्युत् सेवा सुचारु भएसँगै धार्चे गाउँपालिका वडा नम्बर १ र ३ का करिब ६०० घरधुरी लाभान्वित भएको धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।
असोज २५ गते बुढीगण्डकी नदीमा लेदोसहित आएको बाढीले चुमनुब्री गाउँपालिकासहित धार्चे गाउँपालिका–१ र ३ का बस्तीमा वितरण गरिएको विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो । बाढी आएको ३७ औँ दिनमा सोमबारदेखि विद्युत सेवा पुनः सञ्चालनमा आएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।
बाढीले धार्चे गाउँपालिका–१ र ३ का बस्तीमा विद्युत् सेवा अवरुद्ध बनाएको थियो । बाढीका कारण वडा नम्बर १ र ३ को माथिल्लो सल्लाघारी, माझ सल्लाघारी र तल्लो सल्लाघारीका साथै दोभान, हुमचेत, दाम्बकचेत, माथ्लाम, स्यालीडाँडा उहियाँ र यारुबगरका बस्तीमा विद्युत् सेवा अवरुद्ध भएको थियो ।
उत्तरी गोरखामा सक्रिय कादुरी नामक संस्थाले बाढीले क्षति पु¥याएका विद्युतका पोल, तार र ट्रान्सफर्मर मर्मत सम्भार गरेपछि सोमबारदेखि विद्युत् सेवा सञ्चालनमा आएको धार्चे गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ३ मा मात्रै बाढीले झण्डै ६० वटा विद्युत्का पोल र केही ट्रान्सफर्मर बगाएको थियो ।
विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयलाई मोबाइल चार्ज गर्न तथा कुटानी–पिसानीलगायत दैनिक कामकाज गर्न समस्या भएको थियो । मोबाइल चार्ज गर्नसमेत गाउँलेहरू जेनेरेटर भएका घरमा पुग्नुपर्ने बाध्यता रहेको स्थानीय सोम गुरुङले बताउनुभयो । लामो समयपछि विद्युत् सेवा सञ्चालनमा आएसँगै दैनिक जनजीवन सहज भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology