गोरखा, ३० कार्तिक । उत्तरी गोरखामा भएको हिमपातका कारण अवरुद्ध बनेको पदमार्ग तथा सडक खुलाउन सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । चुमनुब्री गाउँपालिका–५ साम्दो आसपास आईतबारबाट परेको हिमपातले पदमार्ग ढाकेपछि स्थानीय तथा पर्यटकको आवागमन प्रभावित भएको थियो ।
अवरुद्ध पदमार्ग खुलाउन साम्दोस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) अन्तर्गत खटिएको टोलीले सोमबार बिहानबाट हिमपात पन्छाएको सशस्त्र प्रहरीका इन्स्पेक्टर दिनेश खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार मनास्लु पदमार्ग हुँदै लार्केपास जाने बाटोमा जमेको हिउँ पन्छाउनुका साथै हेलीप्याडसमेत सफा गरिएको छ । विशेषगरी साम्दो हुँदै लार्केपास जाने विदेशी तथा आन्तरिक पर्यटकको यात्रा प्रभावित भएपछि सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छाउने कामलाई तीव्रता दिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखाबाट खटिएको सुरक्षा टोलीले यात्रुहरूलाई यात्रा गर्दा सावधानी अपनाउन र प्रतिकूल मौसमबारे सचेत रहनसमेत अनुरोध गरेको छ ।