काठमाडौ, २९ कार्तिक । सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीलाई निःशुल्क एचपीभी खोप लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर दिवसको अवसर पारेर आउँदो माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान चलाउने निर्णय गर्नुभएको मन्त्रालयले जनाएको छ ।
मन्त्री पौडेलले आगामी वर्षबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप अभियानमा समेत समावेश गराउने निर्णय गर्नुभएको हो ।
किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको र यो निर्णयबाट ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९ सय किशोरी लाभान्वित हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले सीआईएनलाई जानकारी दिनुभयो । नेपालमा हरेक दिन औसतमा चार जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भइरहेको अध्ययनले देखाएको मन्त्रालयले जनाएको छ ।